मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’को सफलता पछि मुख्य नायक प्रभाषको माग भारतीय फिल्म उद्योगमा तिब्र रुपमा बढेको छ । फिल्म ‘साहो’मार्फत बलिउडमा डेब्यु गर्न लाग्दा उनलाई लिएर फिल्म बनाउन निर्माता निर्देशकको ताँती नै लाग्यो । यही कुरालाई बुझेका प्रभाषले बलिउडका फिल्म खेल्न आफ्नो पारिश्रमिक पनि राम्रै बढाएका छन् ।
फिल्म ‘बाहुबली २’मा अभिनय गर्दा उनले २५ करोडसम्म पारिश्रमिक लिएका थिए । तर बलिउड फिल्म ‘साहो’का लागि उनले पाँच करोड बढी अर्थात ३० करोड पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक बलिउडका खान आसपासको हो ।
प्रभाषको फिल्म तेलुगु, तामिल र हिन्दी भाषामा बन्नेछ । जसको सुटिङ हैदराबाद, मुम्बई, आबुधाबी र बुचारेष्टमा हुनेछ । फिल्ममा श्रद्धा कपुर र निल नितिन मुकेशको पनि अभिनय हुनेछ । फिल्म एक सय ५० करोडमा निर्माण हुने बताइएको छ ।