फिल्म ‘जेरी’बाट नेपाली फिल्म नगरीमा प्रवेश गरेकी नायिका हुन् आना शर्मा। पहिलो फिल्मबाट नै सम्भावना देखाएकी आनाले दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएकी थिइन्। सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएकी आनाले केहि समयको विश्राम पश्चात दोश्रो फिल्म ‘ग्याङ्गस्टर ब्लूज’मा काम गरिन्। जुन फिल्म केहि साता पहिला मात्र रिलिज भयो। अनमोल केसीसँग स्क्रिन शेयर गरेर फिल्म नगरीमा हात हालेकी उनले यस फिल्ममा नव-नायक आशिरमान देशाराज जोशीसँग जोडी भएर काम गरेकी थिइन्।
हाल प्रदर्शनरत फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ले राम्रो व्यापार गर्न सकेन। फिल्मले सन्तोषजनक व्यापार नगर्दा फिल्मका कलाकारहरुले पनि आशा गरे अनुरुपको प्रतिक्रिया पाएनन्। फिल्ममा नव-नायक आशिरमण देशाराज जोशी र आना शर्मा दुबैको अभिनयलाई दर्शकले खासै रुचाएको पाइएन। फिल्म रिलिज पुर्व देखिएको क्रेज अनुरुपको काम उनीहरुले देखाउन सकेनन्। जसबाट दर्शक निराश हुन पुगे।
पहिलो फिल्ममा दमदार अभिनय गर्न सफल आना दोश्रो फिल्ममा भने चुक्न पुगिन। आनाको पहिलो फिल्म ‘जेरी’लाई ‘ग्याङ्गस्टर ब्लूज’ निर्देशक हेमराज बिसी नै निर्देशन गरेका थिए।
अभिनयलाई भन्दा पढाईलाई बढी महत्व दिन खोजिरहेकी आनाले ‘जेरी’ पश्चात धेरै फिल्मको अफर त्यागिन। राम्रो राम्रो प्रोजेक्टबाट अफर आउदा पनि काम गर्न तयार भइनन् आना। पहिलो हिट फिल्म दिएकी आनाको दोश्रो फिल्मले राम्रो नगरेपछि अब उनको करियर कता भन्ने बहस पनि फिल्म बजारमा हुन थालिसकेको छ। उनि अहिले कुनै पनि फिल्ममा आबद्ध भएर काम गरिरहेकी छैनन्। हालै सार्वजनिक उनको प्रेम प्रसंगले पनि मिडियामा राम्रो स्थान पाइरहेको छ।