गायक शिव परियारको स्वर रहेको गीत सार्वजनिक भएको छ। शिव परियारकै लगानीमा निर्माण भएको ‘मेरो मायाले’ बोलको भिडियोमा भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का प्रस्तुत छन्। गायक शिव परियारको ‘शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ। भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो।
पछिल्लो समय नेपाली फिल्मसँगै म्युजिक भिडियोमा पनि नयाँ-नयाँ प्रयोग सुरु भएको छ। आफ्नो भिडियोमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक विकास सुवेदीले सम्भवत नेपालमै पहिलो पटक पुर्णतया सेटमा म्युजिक भिडियोको छायांकन गरेका छन्। नेपाल आइडल तथा सुपरहिट गीत ‘काले दाइ’को समेत सेट बनाएका राजु पेन्टरले बनाएको सेट म्युजिक भिडियोका लागि पहिलो पटक प्रयोग गरिएको निर्देशक सुवेदीले बताए ।
अहिले सांगीतिक टूरका लागि अमेरिकामा रहेका गायक शिव परियारले भिडियोलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन्। उनले भने, ‘मेरो सांगीतिक करिअरमा धेरै भिडियो निर्माण गरेको भएपनि यो भिडियोबाट मैँले सबैभन्दा धेरै खुशी महशुस गरेको छु। भिडियोमा हामीले नयाँ प्रयोग गरेका छौ।’ यस्तै, निर्देशक विकास सुवेदीले मेरो मायाले बोलको भिडियो नेपाली म्युजिक भिडियो उद्योगलाई नयाँ प्रयोग भएको बताएका छन्।