मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडाका लागि विवाद भन्ने कुरा एउटा साथी जस्तै बनेको छ । हालै मात्र सिक्किमका विषयमा दिएको विवादास्पद बयानले उनको सामाजिक सञ्जालमा ट्रोल बनाउने क्रम बढेको छ । उनले हालै मात्र सिक्किमलाई ‘उग्रवाद प्रभावित अशान्त राज्य’ भनेपछि सामाजिक सञ्जालमा सिक्किम प्रेमी प्रियंकाविरुद्ध पुरै खनिएका छन् ।
हालै मात्र टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिवलमा उनले आफू सिक्किमको उग्रवादबाट दुःखी भएको बताएकी थिइन् । फेस्टिबलमा आफू निर्मित फिल्म ‘पाहुना’को प्रिमियरका लागि अमेरिका पुगेकी उनले सिक्किमविरुद्ध अभिव्यक्ति दिएकी थिइन् । सिक्किमको कथा बोलेको फिल्म बनाएकी प्रियंकाले सिक्किमकै विरुद्ध बोलेपछि उनीप्रतिको आलोचना ह्वात्तै बढेको छ ।
सामाजिक सञ्जालमा सिक्किम शान्त राज्य भएको र त्यहाँ उग्रवाद नरहेको एक प्रयोगकर्ताले प्रियंकालाई जवाफ दिएका छन् । २०१३ मा सिक्किम सबैभन्दा कम अपराध हुने राज्यको रुपमा चित्रित भएको थियो । यो विषयलाई लिएर प्रियंकाले सिक्किम सरकारसँग माफी मागेकी छन् । प्रियंकाको प्रतिनिधित्व गर्दै उनकी आमा मधुले माफी मागेकी हुन् ।