नेपाली फिल्मकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा अभिनय गरेकी छन्। नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन्। एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द-संगीत रहेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। राजिब समीरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्।
फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको यो दोश्रो गीत हो भने प्रिया भण्डारीले गएको स्थानीय चुनावमा एमालेको गीत गाएर धेरैको मन जितेकी थिइन्। पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिब सुबेदीका ‘घामजस्तो चम्किलो जुन हुदैन’, ‘आमा तिम्रो दुधको भारा’, ‘कल्पनामै भएनी’, ‘खै हाम्रो दिलमा त’, ‘तिम्रै झल्को दियो’ लगायतका दर्जनौ लोकप्रिय गीतहरु बजारमा छन्।
सार्वजनिक ‘नसोध कसैले’ बोलको गीतले बाबु-बाजेको पुस्तालाई याद दिलाउँछ। आफ्ना बाबु-बाजेले नुन लिन बटौली (अहिलेको बुटवल) जाने गरेको तर आफु भने मायालाई लिन जाने सोच बनाएको भाव गीतले बोकेको छ।