असोज ११ गते बाट दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन्। छायाँकनको समय देखि नै असोज ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘छक्का पन्जा २’ र हिजो मात्र प्रदर्शन मिति तय गरेको फिल्म ‘मेरो पैसा खोई’ एक साथ प्रदर्शनमा आउन लागेका हुन्। प्रदर्शनको एक हप्ता मात्र बाकीं रहँदा फिल्म मेरो पैसा खोई’ले आफ्नो प्रदर्शन मिति तय गरेको हो।
केहीदिन अघि यहि मितिमा छविराज ओझा निर्मित फिल्म ‘मंगलम’ रिलिज हुने फाइनल भएको थियो। तर, आपसी सहमतीमा ‘मंगलम’ले आफ्नो रिलिज मितिलाई फागुनको पहिलो साता पुर्याएको थियो। ‘मंगलम’ पछि सरे सँगै शोलो रिलिजको मौका पाएको ‘छक्का पन्जा २’सँग जुद्न फेरी अर्को फिल्म ‘मेरो पैसा खोई’ आइपुगेको छ। यसअघि फिल्म ‘मेरो पैसा खोई’ले कात्तिक ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो।
वितरणको जिम्मा लिएका वितरक सुनिल मानन्धरले आफु यो रिलिज मिति बाट अलिकति पनि पछि नसर्ने दाबी गरेका छन्। यो रिलिज मितिको विषयमा निर्माता तथा निर्देशक रोज राणासँग पनि सम्झौता भइसकेको मानन्धरले बताए। कमेडी जनारमा निर्माण भएको फिल्ममा सौगात मल्ल, वर्षा राउत, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ।