मुम्बई(एजेन्सी) । बलिउड स्टार आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’को ट्रेलरमा हेर्दा आम दर्शकलाई फिल्ममा धेरै गीत छन् भन्ने लागेको थियो । कोही बुर्कावाली केटी आउनेछिन् र आम दर्शकलाई आफ्नो आवाजले मोहित बनाउनेछिन् भन्ने भ्रम दर्शकमा थियो । तर फिल्मकी यी युवती आफ्नो आवाज भन्दा पनि क्रान्तिकारी इच्छाशक्तिले सबैको दिल जित्छिन् ।
फिल्ममा इंशुको भूमिकामा देखिएकी जायिरा वासिम वरीपरी फिल्म घुमेको छ । उमेरले १५ वर्षकी इंशु हरेक विहान विद्यालयको बसको पछाडि दौडिन्छिन् । उनको एक हातमा टिफिन र अर्को हातमा पानीको बोतल हुन्छ । फिल्मको कहानी इंशुको संघर्षसँगै उनको आमाको पनि त्यस्तै संघर्ष वरपर घुमेको छ । फिल्मको एक भागमा इंशुले आफ्नो सपना पुरा गर्न गरेको संघर्षलाई देखाएको छ भने अर्कोतर्फ उनकी आमाले आफ्ना हिंस्रक र घमण्डी पतिसँग छुटकारा पाउन दिनहुँ भित्री शक्ति भर्ने काम गर्छिन् ।
टेलिभिजन सिरियलको जस्तै ‘बिचारी आमा’ देखिने यी आमा बिचारा चाहिँ छैनन् । उनी आफ्नो छोरीको सपना पुरा गर्न पतिको पर्सबाट पैसा चोर्ने काम गर्छिन् । छोरीको ल्यापटपका लागि सूनको हार बेच्छिन् । पतिको गाली खान्छिन् । छोरीलाई बचाउनकै लागि गर्भपतन गराउने दबाबको अस्वीकार गर्छिन । घरबाट भाग्छिन् । दश महिना पछि घर आउँदा भर्खरै जन्मिएकी छोरी लिएरै आउँछिन् । प्तिसँग आफ्नो ज्यानको भीख माग्छिन् र अर्को पटक छोरा जन्माउने प्रतिबद्धता व्यक्त गर्छिन् । यी सहनशिल आमा आखिरमा आफ्नो छोरीका लागि एयरपोर्टमा पति नै छोडेर आउँछिन् जोसँग नजर जुधाएर कुरा गर्न पनि डराउँथिइन् ।
यस प्रकारले फिल्म एक मुस्लिम युवतीको सपना पुरा गर्ने कहानीसँगै घरेलु हिंसाका विरुद्ध पनि आवाज उठाउने किसिमको छ । फिल्ममा सानो र ठूलो भूमिकाले मानिसको इगो र पितृसत्तात्मक सोचलाई पनि राम्रो किसिमले प्राथमिकता दिएको छ । फिल्मको एक दृश्यमा इंशूले आफ्नो आमालाई बुवासँग सम्बन्धविच्छेद गर्न दिएको सुझाव पनि मार्मिक छ । फिल्मको गीत औसत किसिमको छ । फिल्ममा आमिर खानको आइटम गीत पनि छ । फिल्ममा धेरै दृश्यले दर्शकलाई बाँधेको छ । दर्शकलाई रिस, हाँसोको वातावरण पनि बनाइदिएको छ ।
फिल्ममा इंशुका बुवाले उसको गीतार तोडेको दृश्यले फिल्ममा इंशुसँगै फिल्म हेरिरहेका दर्शकलाई पनि रिसको वातावरण बनाइदिन्छ । फिल्मको शुरुवाती र अन्तिम दृश्यको खिचाई उत्कृष्ट छ । फिल्मका केही केही दृश्य नाटकीय लाग्छन् । इंशुको भूमिकाले दर्शक रुवाउँछ भने शक्ति सिंह अर्थात आमिरको भूमिकाले दर्शक हँसाउँछ ।
फिल्मले वास्तविक जिन्दगीमा ती व्यक्ति सुपरस्टार हुन्छन् जो आफ्नो लडाई आफै लड्छन् र त्यसबाट विजय प्राप्त गर्छन् । परिस्थिति अगाडि घुँडा टेक्नु हुँदैन भन्ने सन्देश पनि फिल्मले दिएको छ ।