आजबाट रिलिज भएका २ फिल्मको बक्स अफिस निर्माताका लागि मात्र होइन, दुबै फिल्मकी अभिनेत्रीका लागि पनि विशेष छ । गुम्दै गएको स्टारडम बचाउनका लागि अभिनेत्री रेखा थापाका लागि फिल्म ‘रुद्रप्रिया’ एउटा दरिलो हतियार बन्नुपर्नेछ । कारण, रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको व्यापार कमजोर भएका छैनन् । यसैले पनि रेखाका लागि त्यो ब्यानर क्रेज बचाउन जरुरी छ ।
अर्कोतिर, अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलले ८ बर्षपछि एकसाथ काम गरेकाले पनि यो फिल्मको व्यापार कस्तो हुनेछ भन्ने चर्चा धेरै भएको हो ।
सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो फिल्मले एसिड आक्रामणमा परेकी एक यूवतीको कथालाई उठान गरेको छ । बक्स अफिसमा आज अभिनेत्री मलिना जोशीको शिर्ष भूमिका रहेको फिल्म ‘रानी’ पनि रिलिज भएको छ ।
यो फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । फिल्ममा मलिना जोशी, अनुपविक्रम शाही, सारुक ताम्राकार, मनिष श्रेष्ठको मुख्य भूमिका छ । फिल्मको व्यापारले अभिनेत्री मलिना जोशीको डिमाण्ड फिल्म क्षेत्रमा बढाउन सक्छ ।
तर, फिल्म क्षेत्रमा आएपछि एउटा पनि हिट फिल्म दिन नसकेकी मलिना ‘रानी’ नचलेको खण्डमा अझै कमजोर बन्नेछिन् । यसैले, रेखा र मलिनाका लागि आज रिलिज २ फिल्म महत्वपूर्ण छ ।