फिल्म ‘चपली हाइट २’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरे आयुष्मान देशराज । यस्तै, फिल्म ‘ग्याङस्टार ब्लूज’बाट फिल्म क्षेत्रमा प्रवेश गरे उनका भाई, आशिरमान देशराज ।
फिल्म क्षेत्रमा आउँदै गर्दा यी दुइलाई सबैले आशा गरेका थिए । आयुष्मान र आशिरमानको चर्चा उनीहरुको लुक्सका कारण धेरै भयो । फिल्म क्षेत्रमा यी दुइ लामो रेशको घोडा बन्ने तर्क पनि भयो ।
तर, दुबैको फिल्म रिलिज भैसकेपछि भने करिअर धरमराएको छ । आयुष्मान त अभिनेत्री प्रियंका कार्कीसँगको प्रेमका कारणले नै बढी चर्चित र विवादित बने । जसकाकारण, उनलाई पर्दामा दर्शकले अब रुचाउलान् कि नरुचाउलान् भन्ने छ ।
फिल्म ‘ग्याङस्टार ब्लूज’ हिट भएको भए, आशिरमान स्टार हुन्थे । तर, यो फिल्म असफल भएपछि उनको करिअर पनि संकटमा देखिएको छ । खबर अनुसार, निर्माता रोहित अधिकारी र निर्देशक हेमराज वीसीले संयुक्त रुपमा बनाउन लागेको फिल्म ‘ब्रेकअप’बाट आशिरमान बाहिरिएका छन् । डेब्यू फिल्म नै असफल भएपछि हेमराज र रोहितले आशिरमानमाथि करोडौ लगानी गर्न चाहेनन् । यही, फिल्मबाट उनले १५ लाख पारिश्रमिक लिएको खबर पनि मिडियामा छाएको थियो ।
तर, आयुष्मान र आशिरमान अब भने करिअर संकटको बाटोमा छन् । मिडिया खबरलाई नै मान्ने हो भने, अब आमा रविना देशराजले अभिनेत्री प्रियंका कार्की र यी दुई अभिनेतालाई राखेर नयाँ फिल्म बनाउने तयारी गरिरहेकी छिन् ।