हिरो भित्राउने र बाहिरने खेलका कारण पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम मुख्य अभिनेत्रीको रुपमा रहेको फिल्म ‘अनुराग’को चर्चा चलेको छ । मोडल दीपक घिमिरे, अभिनेता पल शाह यो फिल्ममा भित्रिए र बाहिरिए ।
अभिनेताकै अलमलका कारण यो फिल्म छायांकनमा जान सकेको छैन । तर, अब भने यो फिल्मको टिमले नयाँ अनुहार पाएको छ । एलिजासँग रोमान्स गर्नका लागि समुन्द्र पण्डित नाम गरेका नयाँ अनुहारलाई भित्राइएको छ । यो फिल्मको छायांकन कात्तिक २३ गतेबाट सुरु गरिने निर्देशक सत्यराज चौलागाइको भनाई छ ।
समुन्द्रले एउटा इन्टरनेट कम्पनीको विज्ञापनमा मात्र मोडलिङ गरेका छन् । म्यूजिक भिडियोमा समेत नदेखिएका समुन्द्र नेपाली फिल्म क्षेत्रका लागि नयाँ अनुहार हुन् । दीपकदेखि पल भित्रिएर बाहिरिएको यो फिल्मबाट समुन्द्र भने नबाहिरिने र उनी पक्का भएको निर्माण टिमको भनाई छ । छुट्टै प्रेमकथामा बन्न लागेको भनिएको यो फिल्म अब भने बन्छ कि भन्नेमा आशावादी हुन सकिन्छ ।