अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’को चर्चा त खुबै छ । तर, यो फिल्म कहिले रिलिज हुन्छ भन्ने अन्यौलता भने अझै छ । किनकी, फिल्मको प्रदर्शन मिति २ पटक सरिसकेको छ ।
नयाँ मिति निर्माताले अझै सार्वजनिक गरेका छैनन् । यतिमात्र होइन, यो फिल्मको छायांकन अझै २० दिन भन्दा बढी त बाँकी नै छ । सुरेन्द्र पौडेल निर्देशित फिल्मलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् । यो फिल्म जति ढिलो रिलिज हुन्छ, अभिनेता अनमोल केसीको करिअरमा उती नै घाटा लाग्ने पक्का छ ।
किनकी, अनमोलको फिल्म २ बर्षदेखि रिलिज नहुँदा अन्य अभिनेताहरुले चर्चा बढी पाइरहेका छन् । अहिले, बक्स अफिसमा अभिनेताहरुको भिडन्त खुबै छ । यस्तो अवस्थामा अनमोलको फिल्म रिलिज ढिलो हुँदा उनको चर्चा पनि कम हुने पक्का हो ।
अनमोल केसी र अदिती वुढाथोकीको मुख्य भूमिका रहेको फिल्मले प्रेम र बदलाको कथालाई उठान गरेको छ । अनमोलको फेरिएको रुप दर्शकले यो फिल्ममा हेर्न पाउनेछन् ।