अभिनेता रमेश उप्रेतीले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’को प्रदर्शन मिति नजिकिदै जाँदा अहिले धेरैको ध्यान यो फिल्ममा खिचिएको छ । असारदेखि बक्स अफिसमा एउटा नेपाली फिल्म हरेक महिना सफल भैरहेको समयमा अब, कात्तिक महिनाको साख जोगाउने काम ‘ऐश्वर्य’ले गर्नुपर्नेछ ।
दिवाकर भट्टराइ निर्देशित फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार, दीपिका प्रसाई लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्मलाई फिल्म सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ बर्ष भन्दा तलका बालबालिकालाई आमा बाबुको साथ चाहिनेछ । हुनत, नेपालमा सेन्सरले दिने सर्टिफिकेट हलमा कुनै पनि कोणबाट लागू भएको छैन ।
उच्च मेकिङ, हिट गीतका कारण यो फिल्म बक्स अफिसमा सफल हुनेमा धेरैको विश्वास छ । फिल्मको ‘तिमी रोएको पल तिमीलाई’ हिट भैसकेको छ । अभिनेता रमेश उप्रेती पनि यो फिल्म पनि नचलेमा आफू यो क्षेत्रमा रहनुको कुनै अर्थ नभएको बताइरहेका छन् । यस्तो अवस्थामा के कात्तिक महिनाको साख यो फिल्मले धान्ला त ? कात्तिक ९ गतेलाई नै प्रतिक्षा गर्नु उत्तम हुनेछ ।