बलिउड अभिनेता साहरुख खानका विश्वभर करोडौ फ्यान छन् । त्यसमध्ये पनि केही यस्ता विशेष फ्यान छन्, जसले साहरुखका लागि जे पनि गर्न तयार हुन्छन् ।साहरुखकी यस्तै एक फ्यान हुन्, अरुणा पी के । अरुणा अहिले क्यान्सर रोगसँग लडिरहेकी छिन् । उनको अन्तिम इच्छा साहरुखसँग भेट्नु छ । यो कुरा जब ट्विटरको माध्यबाट उनका छोरा र छोरीले साहरुखसम्म पुर्याए, त्यसपछि साहरुखले एक भिडियो सन्देश नै उनलाई पठाएका छन् ।
साहरुखले अरुणाका लागि ट्विटरमार्फत दिएको भिडियो सन्देशमा भनेका छन्–‘मलाई तपाइका छोरा अक्षत र छोरी प्रियंका मार्फत थाहा भयो कि, तपाई एउटा रोगसँग लडिरहनु भएको छ । म मेरो परिवार, आफन्त र साथीभाइको तर्फबाट तपाइको स्वास्थ्य चाडै ठिक होस् भनेर कामना गर्दछु ।’ उनले अरुणासँग यो रोगसँग लड्ने क्षमता भएको समेत उल्लेख गरेका छन् ।
साहरुखले डाक्टरको सल्लाहा अनुसार अरुणालाई आफूले भेट्ने इच्छा समेत देखाएका छन् । अरुणाले आफ्नो अन्तिम इच्छा नै साहरुखसँग भेट्नु रहेको बताएकी छिन् । अरुणाको क्यान्सर अहिले तेश्रो स्टेजमा रहेको छ । साहरुखको यो भिडियो सन्देशले अहिले ट्विटरमा निकै चर्चा पाएको छ ।