चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी फेरि फिल्मी पर्दामा फर्किएका छन् । उनीहरुले, फिल्म बनाउन छाडेको लामै समय भयो ।
तर, चैत्र ९ गतेबाट रिलिज हुने फिल्म ‘सत्रु गते’बाट भने यी दुई कलाकारलाई दर्शकले फिल्मको पर्दामा देख्न पाउने भएका छन् । यो फिल्मको सोमबार शुभमुहुर्त गरिएको छ । काठमाण्डौको कमलादिमा रहेको गणेश मन्दिरमा फिल्मका निर्माता, निर्देशक र कलाकारले पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको बताए ।
यो फिल्मलाई ५० दिन लगाएर खिचिने निर्देशन प्रदिप भट्टराइले बताएका छन् । २ साता फिल्मको छायांकन विरगञ्जमा हुनेछ भने, त्यसपछि बाँकी छायांकन काठमाण्डौमा गरिनेछ ।
फिल्ममा नेपालमा चर्चित हाँस्य कलाकारहरुलाई देख्न सकिनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माको मुख्य भूमिका रहनेछ ।
डार्क कमेडी कथामा यो फिल्म निर्माण हुनेछ । फिल्मले सामाजिक चेतना समेत जगाउने निर्देशक प्रदिप भट्टराइको भनाई छ । फिल्ममा हरिवंश आचार्य र दीपाश्रीको जोडी देख्न पाइनेछ ।