हाँस्य कलाकार मनोज गजुरेलले फिल्ममा डेब्यू गरेका छन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘सयकडा दश’को छायांकन काठमाडौंमा सुरु भएको छ । बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको छायांकन गरिएको हो ।
‘डेब्युका लागि उपयुक्त फिल्मको पर्खाइमा थिएँ’ गजुरेलले भने, ‘म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो ।’
‘ठेगाना र प्रेमगीत २’ निर्देशन गरेका रामशरण पाठकले यो फिल्मको निर्देशन गर्दैछन् । उनले भने–‘सदाचारको वकालत फिल्मले गर्नेछ’ ।’
फिल्ममा अमृत ढुंगाना, डेब्यु गर्ल करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् । रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायत छन् ।
रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौं र पोखरामा सुट गरिने फिल्मको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।