चलचित्र‘प्रेमालय’ निर्माण हुने भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। कुमार शाहले निर्देशन गर्ने यस फिल्ममा निराजन प्रधान र मरिष्का पोखरेलको मुख्य भुमिका रहने छ।
विदेशमा बस्ने छोरा-बुहारीको बच्चा स्याहार्न बाबु-आमालाई घुम्नको निम्ति भन्दै केहि महिनाको लागि विदेश बोलाउने प्रचलन (तेल भिसा) को कथा प्रस्तुत गरिने बताइएको छ । चलचित्रमा निराजन प्रधान र मरिष्का पोखरेलका अलावा सन्नी ढकाल, डा. सूर्या थापा, रविन्द्र झा, दलमान पुन लगायतको पनि अभिनय रहनेछ। आगमी सातादेखि छायाँकनमा जाने यस चलचित्रलाई नेपाल र अस्ट्रेलियामा खिचिनेछ। अस्ट्रेलियामा यही असार पहिलो साताबाट छायाँकन गरिने निर्माण पक्षले बताएको छ। किरण माइकलको लेखन रहेको ‘प्रेमालय’मा राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत र रोहा शर्माको छायाँकन रहनेछ।
‘एसके स्क्वाएर प्रोडक्सन’ र ‘ए प्लस इन्टरटेनमेन्ट’को व्यानरमा बन्ने ‘प्रेमालय’मा कार्यकारी निर्माताको रुपमा किरण माइकल र ऋषिकेश गिरी रहेका छन्। सुभाष श्रेष्ठ निर्माता रहेको फिल्मको सहनिर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री रहेका छन्।
त्यस्तै सोही कार्यक्रममा अर्को फिल्म ‘रुमानी’को पनि निर्माण घोषणा गरिएको छ। फिल्मको लागि सन्नी ढकाल मात्र फाइनल भएका छन्। छिट्टै नै पुरा टिमअप गरेर ‘रुमानी’को छायाँकन थाल्ने निर्देशकले जानकारी दिए।
फिल्मले विदेश गएकी पत्नीले आफ्नो पति अर्कैसँग प्रेममा पर्दा पाएको पिडा र पतिलाई पुन: आफ्नो प्रेममा पार्न गरेको संघर्षलाई देखाइने छ।