चलचित्र ‘चङ्गा चेट’ को प्रयोजनका लागि छापिएको नक्कली नोट चल्तीमा ल्याएको भन्दै यसका निर्माता माधव वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
दीपेन्द्र के. खनाल निर्देशित यस चलचित्रका लागि बनाइएको १ हजारको तीन बण्डल नक्कली नोट चलचित्रका केही प्राविधिकहरुले एक रोधी घरमा खर्च गरेपछि निर्माता वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रोधी घरबाट प्रहरीमा उजुरी परेपछि बुधवार बिहान निर्माता वाग्लेलाई महाराजगञ्ज प्रहरीले बोलाएको थियो ।
सोधपुछका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर बुधवार दिउँसो काठमाडौं जिल्ला अदालतमा थप अनुसन्धानका लागि म्याद थप गरेको छ ।
चलचित्र निर्माणमा सफल मानिएका उनले लुट जस्तो सफल चलचित्र निर्माण गरिसकेका छन् । उनले ‘लुट २’, ‘लभ सासा’, ‘रेशम फिलिली’ लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।