मेघा चलचित्र ‘नाईं नभन्नू ल’ को पाँचौं भागको अफिसियल ट्रेलर मंगलवार केन्द्रिय राजधानी काठमाडौंमा सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल बनेको छ ।
बाल कलाकार अनुभव रेग्मी र नव-बाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव-अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा विशेष ‘फोकस’ गरिएको छ ।
निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् । ट्रेलरमा प्रयोग गरिएका संवादहरु घतलाग्दा छन् । लोकेशन र खिचाई पनि उत्कृष्ट छ ।
फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
बसन्त सापकोटाको संगीत रहेको फिल्मका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने सम्पादन अर्जुन जिसीको छ । कार्यक्रममा निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा फर्मुलामा आधारित रहेको बताउदै चलचित्रले दर्शकलाई भरपुर मनोरंजन दिने बताए । वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी रहेका छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।