काठमाडौं । भाद्र ८ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको चलचित्र ‘नाईं नभन्नू ल ५’को दोस्रो गीत रिलिज गरिएको छ । बालापनको उमेर शीर्षकको गीतमा बसन्त सापकोटाको सङ्गीत र समीक्षा अधिकारीको स्वर रहेको छ ।
हरेक चलचित्रमा कलाकार तथा गायक गायिकालाई अवसर दिँदै आएका निर्देशक विकास आचार्यले यो गीतबाट समीक्षा अधिकारीलाई मौका दिएका छन् । छक्का पञ्जा-३ को सुटिङको समयमा स्कुलको कार्यक्रममा समीक्षालाई नाईं नभन्नू ल कै गीत गाइरहेको चलचित्रका छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदिप कुँवरले भेटेपछि दुवैले समीक्षालाई फेसबुकमा लाइभ गीत गाउन लगाएका थिए । नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि सङ्गीतकार बसन्त सापकोटा र निर्देशक आचार्यले समीक्षालाई पोखराबाट झिकाइ गीत रेकर्ड गराएका थिए ।
अनुभव र सेड्रिनाको नृत्य रहेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाललगायतका कलाकारको अभिनय रहेको छ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ ।