काठमाडौं | फिल्म ‘जय शम्भु’ टिम यतिबेला फिल्मको प्रचार प्रसारको लागि मोफसलमा पुगेको छ। प्रचार युनिटले शुक्रबार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई फिल्मको बारेमा जानकारी गराएका छन्। युनिटले शनिबार बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममा प्रचार टोलीले फिल्मका बारेमा जनकारी दिएको हो।
फिल्मको प्रचार टोलीमा कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही पनि समावेश छन्। नायिका बर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि त्यहाँ पुग्न सकिनन्।
पोखरामा कार्यक्रम सकाएको फिल्मका टिम बुटवल प्रस्थान भएका छन्। बुटवलमा नायिका बर्षा शिवाकोटी पनि उपस्थित हुनेछिन् शनिबार बेलुका बुटवलका विभिन्न होटल तथा लन्जहरुमा गई फिल्मको बारेमा जानकारी गराउनेछन्।
त्यसलगतै फिल्म युनिट आइतबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम सकाएर त्यहाँबाट चितवन र हेटौंडातर्फ लाग्नेछन्। चितवन र हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौं फर्कनेछन्।
फिल्म युनिटले पोखराको आधा दर्जनभन्दा बढी होटल तथा लन्जहरुमा पुगेर फिल्मको बारेमा जानकारी गराएका थिए। पोखराको आधा दर्जनभन्दा बढी होटल तथा लन्जहरुमा पुगेका अनुप र प्रशान्तलाई उनका फ्यानहरुले घेरेर सेल्फी खिचेका थिए।
रिलिज मिती नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन्। देश व्यापी प्रचार प्रसारमा देखिएका फिल्मका टिमले प्रचारको नयाँ शैली अपनाएका हुन्।
भदौ १ गतेबाट प्रदशर्नमा आउने ‘जय शम्भु’ एक्शन लभस्टोरी फिल्म हो। दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन्। यस्तै, सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन्।
रुपेश तामाङ निर्देशित फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ। फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु रानाको मुख्य भूमिका रहेको छ।