काठमाडौं | केही दिन अघि मात्र फिल्म ‘गोपी’बाट नायिका वर्षा सिवाकोटी आउट भएको र वर्षा राउत इन भएको खबर बाहिर आयो। अहिले फेरी फिल्मबाट मुख्य कलाकार खगेन्द्र लामिछाने पनि आउट भएका छन्। खगेन्द्रको ठाउँमा नायक विपिन कार्की इन भएका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मबाट वर्षा सिवाकोटी र खगेन्द्र लामिछाने आउट भएको र वर्षा राउत र विपिन कार्की इन भएको जनकारी दिइएको हो।
विपिन फिल्मको स्कृप्ट एकदमै मन परेकाले फिल्ममा काम गर्न लागेको बताउँछन्। भन्छन्, ‘मलाई १ दिन अघि मात्र उहाँहरुले स्कृप्ट दिनुभएको हो। मैले रातारात स्कृप्ट पढेर ओके गरे।’ त्यस्तै नायिका वर्षा राउत पनि आफ्नो भूमिका एकदमै मन परेकाले फिल्ममा काम गर्न तयार भएको बताउँछिन्। अब भने फिल्ममा विपिन, वर्षा र सुरक्षा पन्तको मुख्य भूमिका रहने छ। सुरक्षा भने फिल्म घोषणा देखि नै टिममा छिन्।
फिल्मको स्कृप्टमा कुरा नमिले पछि वर्षा र खगेन्द्रले फिल्म छोडेको निर्देशक दिपेन्द्र लामाले बताए। यदि फिल्ममा खगेन्द्र र वर्षा नहुँदा उनीहरुको विकल्प को भन्ने पहिल्यै देखि दिमागमा राखिरहेको निर्देशक बताउँछन्। ‘यदि खगेन्द्र र वर्षा भएनन् भने विपिन र वर्षा हाम्रो सोचाइमा हुनुहुन्थ्यो त्यहीँ भएर उहाँहरुलाई इन गराएका हौं।’
श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा आरोही केसीको लगानी रहेको छ। फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ। शैलेन्द्र डि कार्कीले खिच्ने फिल्मलाई निमेष श्रेष्ठले सम्पादनको जिम्मा लिएका छन्। भदौ ३ गतेबाट छायांकनमा जाने फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने तय गरिएको छ।