काठमाडौं | भदौ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मेरी मामु’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार ललितपुरमा रहेको डिएभी विद्यालयमा त्यहाँका विद्यर्थीहरुका बिच फिल्मको ट्रेलर रिलिज गरिएको हो।
सार्वजनिक ट्रेलरमा आमा छोराको प्रेमलाई देखाइएको छ। जहाँ फिल्मका बाल कलाकार आयुव सेन केन्द्रिय पात्र बनेका छन्। फिल्म नै बालमनोविज्ञानमा आधारित भएका कारण ट्रेलर विद्यालयमा रिलिज गरिएको निर्माता सन्तोष सेनले बताए। उनले भने, ‘हाम्रो फिल्म नै बालबालिकामा आधारित छ। त्यसैले हामीले स्कुलमा ट्रेलर रिलिज गरेका हौं।’ फिल्मले देशका विभिन्न विद्यालयहरुमा गएर फिल्मको प्रचार गरिरहेको छ।
‘प्रेम गीत’ तथा ‘प्रेम गीत २’ जस्ता सफल फिल्म निर्माण गरेको ‘आशुसेन फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्मलाई यम थापाले निर्देशन गरेका छन्। फिल्ममा आयुवसँगै सारुक तम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङको पनि मुख्य भूमिका रहेको छ।
आमा छोराको सम्बन्धको कथा बोकेको फिल्ममा कुसुम र आयुव आमा छोराको भूमिकामा प्रस्तुत छन्। कल्याण सिंहको संगीत रहेको छ। पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेको फिल्मलाई बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।