काठमाडौं | फिल्म ‘जय श्री दाम’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अमृत ढुंगाना, विनोद न्यौपाने र राजन खतिवडालाई प्रस्तुत गरिएको भने फिल्मको लिड अभिनेत्री जेबिका कार्कीलाई भने स्थान दिइएको छैन।
नामले नै कमेडी बोल्ने फिल्मको पोस्टरमा पनि पात्रहरुलाई कमेडी अवतारमा प्रस्तुत गरिएको छ। राजन खतिवडा पण्डितको भेषमा प्रस्तुत भएका छन् भने अमृत र विनोदले हात जोडेर बसेका छन्। पोस्टरको ब्याकग्राउण्डमा नेपाली रुपैयाँको ‘नमुना’ जोडिएको छ।
पोष्टरमा फिल्मको रिलिज मिति पनि तोकिएको छ। पुस २० गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको यस फिल्ममा अमृत ढुङ्गाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटाको पनि मुख्य भूमिका रहेको छ।
‘मङ्की टेम्पल प्रोडक्सन’, ‘क्रेजी ह्याण्डस् प्रोडक्सन’ र ‘नेशनल मिडिया प्रोडक्सन’को संयुक्त ब्यानरमा बनेको फिल्मलाई विप्लोप उप्रेतीले निर्देशन गरेका हुन्। उप्रेतीले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह- निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन्।
निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’मा रविन आचार्य डिओपी, नवराज उप्रेतीको छायांकन तथा मित्र डि गुरुङको सम्पादन छ। फिल्ममा सुशआन्त गौतमले संगीत दिएका छन्।