काठमाडौं | फिल्म दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ। मंगलबार वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको जन्मदिनको शुभ अवसर पारेर फिल्मको शुभ मुहूर्त गरिएको हो। हरिवंशको ६१औं जन्मदिन मनाउँदै काठमाडौंको कमलादीमा रहेको गणेश मन्दिरमा फिल्मको शुभ मुहूर्त गरियो।
शुभ मुहूर्त कार्यक्रममा फिल्मका प्राय: कलाकार उपस्थित थिए। त्यहाँ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भूषाल, राजाराम पौडेल, पुष्प खड्का आँचल शर्मा लगायतका कलाकारसँगै निर्देशक सुदन केसी, प्रस्तुतकर्ता किरण केसी, संगीतकार शम्भुजित बास्कोटाको उपस्थिती देखिन्थ्यो।
फिल्मलाई शुभकामना दिन चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल, कलाकार दिपकराज गिरी, जितु नेपाल, निर्मल शर्मा पनि शुभ मुहूर्त कार्यक्रममा पुगेका थिए।
‘मह संचार’को व्यानरमा निर्माण हुन लागेको यस फिल्ममा निरुता सिंह, प्रियंका कार्की, वर्षा राउत लगायतको पनि अभिनय रहने छ। सनिबार देखि छायांकनमा जाने यस फिल्मले बैशाख १३ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।