मंसिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका तीन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। यी तीनकै वरपर फिल्मको कथा घुम्ने भएकोले पोस्टर पनि यिनमै फोकस छ। पोष्टप्रोडक्सनमा रहेको फिल्मको ट्रेलर साता भित्र नै रिलिज हुने निर्माण पक्षले जनाएका छन्।
रंग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन्।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ। फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ। फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन्।