काठमाडौं | फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ। रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउने उद्देश्यले गीत रिलिज गरेको हो। सार्वजनिक ‘साया’ बोलको गीतमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर छन्।
सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मको सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ। गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन्। शब्द, संगीत पनि पुष्पनको नै छ।
‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ। फिल्मको यसअघि सार्वजनिक टिजरले लोकप्रियता बढाउँदै छ। मुस्कान ढकालको निर्देशनमा तयार भएको फिल्ममा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड अभिनयमा छन्।
सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन्।
नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन्। अर्जुन जिसीले सम्पादन गरेको ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन्।