फागुन १७ गतेबाट रिलिज तयारीमा रहेको फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली’ बोलको गीतको छायांकन गरिएको छ। ललितपुरको एक पार्टी प्यालेसमा सोमबार खिचिएको गीतको भिडीयोमा अनमोल केसी, भुवन केसी र अभिनेत्री निरुता सिंह फिचर्ड रहेका छन्।
दुई रात लगाएर छायांकन गरिएको गीतको भिडियोमा कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी छन्। मेलिना राई र एसडी योगीको आवाज रहेको गीतमा एसडीकै शब्द तथा संगीत छ।
गीतको बिषयमा निर्माता समेत रहेका भुवन भन्छन – ‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउनेछ। दर्शकका लागि अनमोल, म र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास लिएको छु।’
दिवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन्।