चैत्र २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘यात्रा-अ म्युजिकल भ्लग’को गीत सार्वजनिक भएको छ। सोमबार युट्युबमार्फत् फिल्मको ‘पञ्ज पन्छी’ बोलको गीत सार्वजनिक गरिएको हो।
ट्रभल बेसमा तयार गरिएको उक्त गीतको भिडियोमा सलिनमान बनिया, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल लगायतलाई मस्ती मुडमा भ्रमणमा निस्किएको देखाइएको छ । प्रविण सिंहको करिओग्राफी रहेको उक्त भिडियोमा काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ।
गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ।
सम्राट शाक्यले निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ। यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन्। फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह(निर्माता रहेका छन्। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्।
फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन्। संजय लामाले खिचेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको छ। फिल्ममा शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ।