फिल्म ‘घर’को छायांकन सकिएको छ। हरर कथामा निर्माण भएको यस फिल्मले २० दिनमा नै छायांकन सकाएको हो।
अर्पण थापाको निर्देशनमा बनेको यस फिल्मलाई काठमाडौंको विभिन्न स्थानमा खिचिएको छ। शर्मिला पाण्डेले निर्माण गरेको यस फिल्ममा निर्देशक थापा कै कथा समावेश छ। ‘घर’मा अर्पण थापा, बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ।
फिल्मको बिषयमा निर्मात्री पाण्डेले भनिन्–‘यसपटक हामीले धेरै तयारी गरेकाले पनि छायांकन चाडै नै सकियो । दिनरात नभनी काम गरेका छौ । फिल्मले दर्शकलाई मनोरञ्जन मात्र होइन, हरर कथामा बनेका नेपाली फिल्मले दर्शकलाई छुट्टै खालको महशुश गर्न सक्दैनन् भन्ने आरोपलाई पनि तोड्नेछ।।’
‘डीएस डिजिटल’को ब्यानरमा निर्माण भएको यस फिल्ममा निरज कँडेलको छायांकन रहेको छ। फिल्ममा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताको रुपमा छन्।
फिल्ममा नायिका बेनिशा हमालको गेटअप केही फरक देखिएको छ। बेनिशाले आफ्नो गेटअपको बिषयमा केही खुलाउन नमिल्ने बताइन्। नायिका सुरक्षा पन्त यो फिल्ममा अर्पणकी श्रीमतीको भूमिकामा देखिदैछिन्।