प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’को गीत रिलिज भएको छ। भ्यालेनटाइन्स डेको अवसर पारेर निर्माण युनिटले बिहिबार फिल्ममा समावेश ‘घाम जून चाहिँदैन’ बोलको गीत सार्वजनिक गरेको हो।
सार्वजनिक उक्त गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ। दीपक शर्माको संगीत रहेको गीतमा दीपक शर्मा र उषा शेरचनले शब्द दिएका छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा प्रदीप र जसिताको केमेष्ट्री गज्जबले फिचर गरिएको छ।
प्रदीप र जसिताले यस अघि फिल्म ‘लिलिबिली’मा सँगै काम गरेको थिए। प्रदीप र जसिताको यो दोस्रो सहकार्य हो।
चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेका फिल्ममा प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ। फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका छन्।
निर्देशक घिमिरेका अनुसार, ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा हो। ‘काफिया फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीको लगानी रहेको छ। फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन्।