चैत्र २९ बाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’को लभ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘फ्लाइङ’ बोलको गीतमा डेब्यु गर्ल मलिका महतसँग सलिनमान बनिया रोमान्टिक अवतारमा देखिएका छन्। पोखराको रमणीय स्थलमा छायाँकन गरिएकोगीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ।
गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ। गीतलाई निर्माण पक्षले फिल्म रिलिज पछि सार्वजनिक गरेको हो।
फिल्ममा सलिनले भ्लगमार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन्। फिल्ममा सलिन र मलिकासँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल लगायतको अभिनय रहेको छ।
‘कोटकी कालिका देवी फिल्मस्’, ‘क्रिएटिभ फिल्म प्रोडक्सन’ र ‘हरि ओम सिने मेकर्स’को ब्यानरमा निर्माण भएको फिल्ममा केशव भट्टराई र चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ताका रुपमा रहेका छन्। फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माता रहेका छन् भने फिल्मका निर्माता सुशील पोखरेल हुन् । फिल्मका कार्यकारी निर्माता भने सर्जुमान लिगल हुन्। फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्।