आज शुक्रबारबाट दुई नेपाली फिल्मले आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। यस साता दुई प्रतिक्षित फिल्म ‘जात्रै जात्रा’ र ‘वीर बिक्रम २’ रिलिज हुदैँछन्।
‘जात्रै जात्रा’ सफल फिल्म ‘जात्रा’को सिक्वेल हो। यस फिल्ममा ‘जात्रा’को कथा र पात्रलाई निरन्तरता दिइएको छ। ‘जात्रा’मा नक्कली परेको २ करोड ८० लाख कहाँ गयो, त्यो कसरी भयो भन्ने प्रश्नको उत्तर ‘जात्रै जात्रा’ले दिनेछ। र यस सिक्वेलमा सुनको कुरालाई पनि जोडिएको छ।
प्रदीप भट्टराईको निर्देशन रहेको ‘जात्रा’मा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झा लगायतको मुख्य भूमिका रहेको थियो। भट्टराईकै निर्देशन रहेको ‘जात्रै जात्रा’मा पनि यी कलाकारहरु दोहोरिएका छन् भने दयाहाङ राई यस फिल्ममा थपिएका छन्।
त्यस्तै, ‘वीर बिक्रम २’ पनि निकै सफल फिल्म ‘वीर बिक्रम’को सिरिज हो। यो फिल्म ‘वीर बिक्रम’को सिक्वोल भने हैन्। ‘वीर बिक्रम’मा साथीको कथालाई प्रस्तुत गरिएको थियो। यस फिल्ममा पनि साथीत्वको कथालाई नै प्रस्तुत गरिएको छ। तर, यस फिल्मको पात्रहरु भने फेरिएका छन्।
‘वीर बिक्रम’मा दयाहाङ राई, अनुपविक्रा शाही, दीया पुन, अर्पण थापा, नाजिर हुसेन लगायतको मुख्य भूमिका रहेको थियो । उक्त फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका थिए। मिलनकै निर्देशन रहेको ‘वीर बिक्रम २’ मा भने पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तमाङ लगायतको मुख्य भूमिका रहेको छ।
दुबै चलचित्र एकदमै आशलाग्दा फिल्म हुन्। सफल फिल्मको दोस्रो भाग, सफल निर्देशकको फिल्म र सफल कलाकारहरु भएका कारण पनि यी दुबै फिल्मलाई आशालाग्दो फिल्मका रुपमा हेर्न सकिन्छ। तर, यी दुई फिल्मको एकसाथ रिलिजले दुबैलाई घाटा हुने निश्चित छ।