“यूगदेखी यूगसम्म” चलचित्रबाट नेपली रजतपटमा भित्रिएका नायक राजेश हमालले सयौं चलचित्रमा आफ्नो दमदार अभिनय प्रस्तुत गरिसकेका छन् । झण्डै २५ बर्षे लामो फिल्मी यात्रा विताइसकेका नायक हमालका दर्जनौ सफल र असफल चलचित्रहरु छिन् । आफ्ना चलचित्रहरु लगातार असफल हुँदा देखी लगातार चलचित्र सफल हुँदा पनि यही चलचित्रक्षेत्रलाई उनले आफ्नो सहयात्री बनाए । महानायक देखी नयाँ पुस्ताका कलाकारहरुको गुरु समेत मानिने हमाललाई पहिलो पटक चलचित्र “शकुन्तला” मा नारी अवतारमा देख्न सकिन्छ । २५ बर्षे लामो फिल्मी करियरमा कुनै पनि चलचित्रमा महिलाको पहिरन लगाएर नदेखिएका नायक हमाललाई “शकुन्तला” को नारी अवतार दर्शकमाझ प्रस्तुत गर्नु कम चुनौतीपूर्ण भने छैन् । हाल प्रदर्शन भइरहेको चलचित्र “शकुन्तला” हेरेपछि सिनेखबरकर्मी मनिष अन्जानले गर्नुभएको समिक्षा :-
कलाकारहरु : राजेश हमाल, किशोर खतिवडा, रवि गिरी, अनु शाह, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ लगाएत ।
निर्देशक : दिनेश श्रेष्ठ
निर्माता : महेश्वर खत्री
संगीत : अर्जुन पोख्रेल
कहानी
चलचित्रको कहानी नायक राजेश हमाल उर्फ शकुन्तलाको वरिपरी नै घुमेको छ । राजेश हमालकी आमा एक पत्रकार हुन्छिन् । आमाले गुण नाईके रवी गिरी उर्फ शोभराजको विषयमा एक समाचार लेख्छिन् र त्यही समाचारका कारण रविका भाई जेलमा गएका हुन्छन् । त्यसै कारण रवि गिरीले राजेश हमालकी आमा र दिदीमाथी बलात्कार गर्छन । त्यही रिसको झोकमा शोभराजले राजेश हमालको गुप्ताङ्ग पनि काटिदिन्छन् । शोभराजले बलात्कार गरेकै कारण हमालकी आमा र दिदीले आत्महत्या गर्छन । त्यसपछि हमाल नारीको रुप धारण गरेर महिलामाथी दुव्र्यबहार गर्नेलाई समाप्त गर्ने प्रण लिन्छन् । महिलाहरुको अन्यायको विरुद्ध आवाज उठाएकै कारण हमालको समाजमा निकै ठूलो नाम हुन्छ त्यसैले उनले रवि गिरीका काममाथि कुनै पनि हस्तक्षेप गर्न सक्दैनन् र उनले आफ्नो हतियार किशोर खतिवडा उर्फ सविरलाई बनाउँछन् । त्यसपछि के हुन्छ त्यो हेर्न भने हलसम्म नै जानु पर्नेछ ।
निर्देशन
समग्रमा चलचित्रका निर्देशक दिनेश श्रेष्ठले तारिफ योग्न नै काम गरेका छन् । धेरै ठाउँमा उनको निर्देशकिय पक्ष चुके पनि चलचित्रलाई नराम्रो नै छ भनेर चाँही भन्न मिल्दैन । चलचित्रको लेखन समेत आफैले गरेका कारण दिनेश श्रेष्ठले अझ पटकथामा ध्यान दिएको भए चलचित्र सुनमा सुगन्ध बन्न सक्थ्यो । त्यस्तै दर्शकहरुले जुन अनुसार चलचित्रमा राजेश हमालको भुमिका खोजेका छन् त्यो अनुसार दिन चाँही दिनेश असफल भएको पाइन्छ । चलचित्रमा राजेश हमालको भन्दा पनि किशोर खतिवडाको भुमिका दमदार देखिएको छ । यो भन्नुको अर्थ राजेश हमालको भुमिका कमजोर छ भन्न खोजिएको होइन तर जुन अनुसार दर्शकहरुले चलचित्रमा राजेश हमालको भुमिका खोजेका छन् त्यसमा चाँही चलचित्र अपुरो छ । हमालको छोटो छोटो भुमिका भएपनि नारीको अवतारमा राजेश हमाल निकै दमदार देखिएका छन् ।
कलाकारहरुको अभिनय
चलचित्रमा राजेश हमालले शकुन्तलाको भुमिका जुन अनुसार निभाएका छन् त्यसमा कुनै पनि खोट दिने ठाउँ छैन । चलचित्रमा किशोरको भुमिका पनि दमदार छ । त्यस्तै खलनायकको भुमिका निर्वाह गरेका रवि गिरीले आफ्नो चरित्रलाई पूर्ण न्याय गरेका छन् । अनु शाह, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय पनि राम्रो छ ।
संगीत
चलचित्रमा ४ वटा गीत छन् । एउटा तिजको गीतमा मात्र राजेश हमाल देखिएका छन् अन्य गीतमा चलचित्रका अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा गीतलाई केही कम गर्न सकेको भए अझ राम्रो हुने देखिन्छ ।
हेर्ने कि नहेर्ने
यदी तपाई नायक राजेश हमालको हार्यहार्ट फ्यान हुनुहुन्छ र राजेश हमाललाई पहिलो पटक नारी अवतारमा देख्न चाहन्नु हुन्छ भने एक पटक शकुन्तला हेर्दा फरक राम्रै हुन्छ । चलचित्र विशेषत एक्शन प्रधान छ ।