असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘सानो मन’ले आफ्नो अफिसियल ट्रेलर सार्वजनिक गरेको छ। निर्माण टिमले आइतबार प्रेम, रोमान्स र पिडा समेटिएको ट्रेलर सार्वजनिक गर्यो। ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेम र उनीहरुको जीवनमा आउने उचारचढाव देखाइएको छ।
सुयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यस फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ। ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धर हुन्।
समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् भने सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादनको जिम्मा लिएका छन् । फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन्।
लभ स्टोरी जनरामा निर्माण भएको यस फिल्मलाई काठमाडौं, भैरहवालगायतका ठाउँहरुमा छायांकन गरिएको छ। फिल्मको एक गीत थाइल्याण्डमा खिचिएको छ।