फिल्म प्रेम गीत ३ निर्माणको तयारीमा छ। हाल फिल्मको लागि कलाकारको छनोट कार्य भइरहेको छ। अहिलेसम्म फिल्मको लागि मुख्य नायक प्रदीप खड्का, मनिष रावत पक्का भइसकेका छन्। त्यसैमा फिल्मको चरित्र अभिनेताका लागि दुई पुराना भेट्रान कलाकारद्वय शिव श्रेष्ठ र सुनिल थापा पक्का भएका छन्।
फिल्मको लागि निर्माण पक्षसँग शिव र सुनिलको कागजी सम्झौता पनि भइसकेको छ। फिल्मको भूमिका निकै राम्रो भएका कारण लामो समयपछि पनि फिल्ममा काम गर्न राजी भएको शिवको भनाई छ। सुनिल पनि फिल्मको भूमिका राम्रो भएकै कारण काम गर्न तयार भएका हुन्।
फिल्ममा शिव श्रेष्ठले प्रदीप र मनिषको पिताको भूमिका निर्वाह गर्नेछन्। निर्माता सन्तोष सेनका अनुसार शिव श्रेष्ठले निर्वाह गर्ने भूमिका राजाको हो। उनले भनेका छन्, ‘शिव श्रेष्ठलाई हामीले राजाको भूमिकामा प्रस्तुत गर्दैछौँ। जुन राजा एकदमै रिशाह हुन्छ। दर्शकले पुन; उहाँलाई एक्सन अवतारमा देख्न पाउनुहुनेछ।’
यस भूमिकाको लागि सुरुमा राजेश हमाललाई अफर गरिएको थियो। तर, समय व्यस्थताका कारण राजेश हमालले यस फिल्ममा काम गर्न सकेनन।
फिल्मको लागि मुख्य नायिका पक्का भइसकेको छैन्। नायिकाको लागि निर्माण पक्षले केही दिन अगाडि मात्र २५ युवतीको अडिसन लिएको छ। अबको केही दिनमा नै मुख्य नायिकाको पनि टुंगो लाग्नेछ।
२०० वर्ष पुरानो कथामा निर्माण हुने यस फिल्मलाई निर्माता सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन्। फिल्मले अगमी नयाँ वर्षलाई लक्षित गर्दै चैत २८ लाई रिलिज मिति पक्का गरेको छ।