फिल्म ‘लप्पन छप्पन’को सिरिज ‘लप्पन छप्पन २’को शुभ मूर्हत गरिएको छ। बुधबार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो। शुभ मुर्हतमा निर्माता/निर्देशकदेखि कलाकारहरुको उपस्थिति रहेको थियो।
मुकुन्द भट्टको निर्देशनमा बन्ने यस फिल्ममा ‘लप्पन छप्पन’ कै कलाकार दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा छन्। यसमा नायिका भने फेरिएकी छिन्। लप्पन छप्पनमा मुख्य भूमिका निर्वाह गरेकी वर्षा सिवाकोटी यस फिल्ममा हुने छैनन्। ‘लप्पन छप्पन २’ थपिएका कलाकारहरुमा अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार लगायत छन्।
असार ११ गतेबाट छायांकनमा जाने यस फिल्मलाई नेपालसहित अष्ट्रेलिया र युरोपमा खिचिनेछ। छायांकनमा जानु पूर्व नै फिल्मले रिलिज टार्गेट पनि तय गरिसकेको छ। निर्माण पक्षका अनुसार यस फिल्म महाशिवरात्रीको छेको अर्थात् फागुन ९ गते रिलिज हुनेछ।
निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेको संयुक्त कथा, पटकथा र संवाद रहेको फिल्ममा चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीको लगानी रहने छ। प्रकाश कुँवर र निर्मल कुमार मिश्र कार्यकारी निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् भने सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्।