भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक भएको छ। ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ। कल्याण सिंहको संगीत र रवि मल्लको शब्द छ। गीतको भिडियोमा फिल्मका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन्।
बिहीबार राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा नम्रता र अनुपले स्टेजमा नृत्य समेत प्रस्तुत गरेका थिए। कोरियोग्राफर गोविन्द राईले चार दिन लगाएर दुईलाई स्टेजका लागि नृत्य सिकाएका थिए। स्टेजमा दुईको जोडी कमालको देखिएको थियो।
सार्वजनिक गीतले अनुप र नम्रताको प्रेमभाव बोल्छ। भिडयोको अन्त्य तिर अनुपले नम्रतालाई लिप किस गरेका छन्।
पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी अभिनेत्री नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन्। मार्शल आर्ट सिक्न उनले ८ महिना तालिम लिएकी थिइन् भने, आफ्नो कपाल समेत काटेकी थिइन्।
फिल्मका निर्देशक आशुतोष राज श्रेष्ठ हुन्। उनको यो डेब्यू निर्देशित फिल्म हो। फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ। प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। ‘कटामरी फिल्म्स’को सहकार्यमा ‘नम्रता श्रेष्ठ प्रोडक्शन’ र ‘ट्रेन्ड सेटर्स प्रा.लि.’को प्रस्तुतीमा फिल्म बनेको हो।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ। लोकेश बज्राचार्यले सम्पादन रहेको यस फिल्ममा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ।