शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको एक फोटो निकै भाइरल भयो। सरोज खनाल शौचालयको कमोडमाथि बसेको फोटो फेसबुक निकै छरपष्ट भयो। उक्त कुराबाट अवार्ड नै विवादित बन्यो।
सोहि विषयलाई लिएर सोमबार चलचित्र विकास बोर्डले विज्ञप्ति जारेको छ। विज्ञप्तीमा उक्त तस्वीर नियोजित रुपमा खिचिएको उल्लेख गरिएको छ। विज्ञप्तीमा लेखिएको छ, ‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ। शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्दछ।’
विज्ञप्तिमा पुरस्कार वितरणको कार्यक्रम बोर्डले आयोजना गरेको र शितल निवासले कार्यक्रम हल एवं समय मात्र उपलब्ध गराएको समेत उल्लेख गरेको छ। यस कार्यक्रममा राष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको बताइएको छ। यदी कुनै कमजोर भएको भए त्यसमा पनि वोर्ड माफी माग्न तयार भएको विज्ञप्तीमा उल्लेख छ।