चलचित्र पत्रकार संघ, नेपालले पोखरामा तीन दिने ‘वृहत चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड पोखराको सभाहलमा भदौ १८ देखि २० गतेसम्म कार्यशाला संचालन भएको थियो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यमा भदौ १८ बाट सुरु भएको कार्यशाला, चलचित्र बिकास बोर्ड अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यमा भदौ २० मा समापन गरिएको हो ।
कार्यशालामा पत्रकार आचारसंहिता, डिजिटल/मल्टीमिडिया पत्रकारिता, फिल्म समिक्षा, चलचित्र पत्रकारिता–हिजो र आज, पर्यटन र चलचित्रको अन्तरसम्बन्ध, आत्मसमिक्षा, चलचित्र पत्रकार र चलचित्र बिकास बोर्ड बीचको अन्तरसम्वन्धका विषयमा अन्तरक्रिया र प्रशिक्षण गरियो ।
देशभरबाट ९० बढी जना चलचित्र पत्रकारको उपस्थितिमा सम्पन्न कार्यशालाले पत्रकारको क्षमता वृद्धिमा सकारात्मक संदेश प्रवाह गर्न सफल भएको संघका अध्यक्ष सन्दीप सापकोटा बताउँछन् । उनले भने, ‘हामीले जुन उद्देश्य राखेर कार्यशाला आयोजना गरेका थियौँ त्यो पूरा भएको छ । पत्रकार साथिहरुले कार्यशालाबाट धेरै कुरा सिक्न सकेको महशुस गरेको छु ।’
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल र कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फिल्म निर्देशक धनश्याम लामिछाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, चलचित्र पत्रकार संघका कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतका व्यक्तित्वहरुले कार्यशालामा उपस्थिति जनाएका थिए ।