असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को नयाँ गीत रिलिज भएको छ। सोमबार सार्वजनिक गरिएको ‘माया पिरती’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ। काली कै शब्द रहेको गीतमा स्वर पनि उनकै रहेको छ।
गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र उपसना सिंह ठकुरी फिचर छन्। लिरिकल भिडियोको कन्सेप्टमा तयार गरिएको भिडियोमा उनीहरुको प्रेमलाई देखाइएको छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ र उपसनासँगै कर्मा, बुद्धि तमाङ, विल्सन बिक्रम राई, विजय बराल लगायतको मुख्य भूमिका रहेको छ। ‘सिनेमा आर्ट’को व्यानरमा बनेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको छ।
फिल्ममा रुदेन सदा लोप्चा, सह-निर्माताको रुपमा रहेका छन्। सैलेन्द्र डि कार्कीले खिचेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्। फिल्मको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्।