‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर चर्चामा आएका बाल–गायक प्रेम परियारले नयाँ फिल्ममा स्वर दिएका छन्। ‘नाई नभन्नु ल ४’मा आवाज दिएका प्रेमले अहिले फिल्म ‘पोई पर्यो काले’को एक गीतमा आफ्नो स्वर भरेका हुन्।
फिल्ममा समावेश ‘मायाले मलाई’ बोलको गीतमा प्रेमको स्वर सुन्न सकिन्छ। आफूलाई गीत निकै मन परेकाले स्वर दिन तयार भएको उनले बताए। प्रेमले भने–‘यो गीतको शब्द सुन्ने वित्तिकै मन पर्यो। आशा छ, मलाई प्रतिक्षा गर्नुभएका दर्शकहरुले यो गीत मन पराउनुहुनेछ।’ रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ।
यस गीतमा फिल्मका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ। शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतको पनि मुख्य भूमिका छ।
कात्तिक ८ गतेबाट रिलिज हुने फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। राजीव गुरुङ र सरोज नेपाली निर्माता रहेको फिल्ममा अमला देवी राई कार्यकारी निर्माताको रुपमा छन्।