छायांकनरत फिल्म ‘लप्पन छप्पन २’मा कलाकार परिवर्तन भएका छन्। मुकुन्द भट्टले निर्देशन गर्ने फिल्मको लागि अभिनेता दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, नायिका सुरविना कार्की, नम्रता श्रेष्ठसँगै एक्सन किङको रुपमा परिचित शिव श्रेष्ठ पक्का थिए।
तर, अहिले फिल्मबाट नायक दयाहाङ राईले हात झिके। फिल्मको छायांकन ढिला भएको भन्दै उनले फिल्म छोडेका हुन्। उनको ठाउँमा अहिले अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ भित्रिएका छन्। उनले फिल्ममा दयाहाङले निर्वाह गर्ने भूमिका निर्वाह गर्नेछन्।
दयाहाङ राईलाई राम्रो अभिनय गर्ने कलाकार मानिन्छ। दयाहाङको जस्तो काम गर्नको लागि शक्तिलाई निकै चुनौती छ।
शक्तिले यसअघि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिसकेका छन्। तर, निर्माण पक्षको आन्तरिक विवादले फिल्मको छायांकन पूरा हुन सकेको छैन्। यस फिल्ममा शक्तिले सदाबहार नायिका करिश्मा मानन्धरको छोरी कविता मानन्धरसँग जोडी बाधेका थिए।