फिल्म ‘प्रेमगीत ३’को शिर्ष गीत सार्वजनिक भएको छ। महाशिवरात्रीको अवसर पारेर शुक्रबार नै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘हर युग होस प्रेमको गीतको’ बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ। राजेश कुमार श्रेष्ठले लेखेको उक्त गीतलाई एलिश कार्कीले संगीत दिएका छन्।
सार्वजनिक गीतलाई लिरिकल भिडियोको रुपमा तयार गरिएको छ। जहाँ फिल्मका चल/अचल दृश्यहरु समावेश गरिएको छ। भिडियोमा फिल्ममा प्रमुख दुई पात्र प्रेम र गीतको प्रेम र उनीहरुको मनोभावलाई देखाइएको छ।
सन्तोष सेनको निर्माणमा तयार भएको फिल्मलाई छेतेन गुरुङ र सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप खड्का ‘प्रेम’ बनेका छन् भने क्रिस्टिना गुरुङ ‘गीत’को भूमिकामा छिन्।
फिल्ममा अनुभव रेग्मी र सम्वृद्धि शाही बाल्यकालको प्रेम र गीत बनेका छन्। फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतको अभिनय छ।
छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। फिल्मले चैत २८ गतेलाई रिलिज मिति पक्का गरेको छ।