आज शनिबार नायक जीवन लुईँटेलको जन्मदिन । चकलेटी हिरोको रुपमा चिनिने नायक जीवन लुईटेल आजबाट ३६ बर्षमा लागेका छन् । सन २००२ मा मिस्टर नेपाल भएपश्चात मोडलिङ करियर शुरू गरेका जीवनले चलचित्र ‘तिर्खा’ बाट रंगिन दुनियाँमा प्रवेश गरेका हुन् । वि.स. २०३८ साल भाद्र २५ गते बिराटनगरमा जन्मिएका जीवन अहिलेका व्यस्त नायक हुन् ।
बिकास आचार्य निर्देशित ‘नसिब आफ्नो’ बाट सोलो हिरोको रूपमा चलचित्र क्षेत्रमा उदाएका जीवनले त्यसपछि दर्जन बढी चलचित्रमा काम गरे । बिकास आचार्यले नै निर्देशन गरेको चलचित्र ‘नाइ नभन्नु ल’ जीवनको करियरको टर्निङ प्वाईन्ट भएर आयो । यसै चलचित्रबाट जीवन दर्शकको नजरमा बस्न सफल भए ।
त्यसपछि उनले निर्देशक आचार्य ब्यानरको अर्को चलचित्र ‘म तिम्रो भैसकें’ मा काम गरे, चलचित्रले भने जस्तो सफलता हासिल नगरेपनि उनको कामलाई भने दर्शकहरुले खुबै तारिफ गरे ।
बौद्धिक अभिनेता लुईटेलका ‘नाइ नभन्नु ल’, ‘अन्दाज’, ‘मालतीको भट्टी’, ‘नोटवुक’, ‘रिदम’ हिट चलचित्र हुन् । तर उनले जसरी यि चलचित्रहरुबाट सफलता पाए त्यसरी नै पछिल्लो समय उनले अभिनय गरेका चलचित्रले साथ दिएका छैनन् ।
केही बर्ष यता उनले अभिनय गरेका अधिकांश चलचित्रहरु असफल छन् । ‘नाइ नभन्नु ल’ पछि उनले ‘स्टुपिड मन’, ‘ठूली’, ‘काफल पाक्यो’, ‘धुन’, ‘भुलभूलैया’ लगायतका चलचित्रमा काम गरे तर ति चलचित्रहरुले बक्सअफिसमा कमाल गर्न सकेनन् । लगातार उनले अभिनयको चलचित्रहरु असफल भएपनि जीवनको व्यस्तता भने अझै घटेको छैनन् ।
यो तिहारमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘राधा’ जीवनको लागि प्रतिक्षित चलचित्र हो । हाल नायक लुईटेल पोखरामा छायाँकन भइरहेको चलचित्र लेकसाइडमा व्यस्त छन् । त्यस्तै आज नायिका छुल्ठिम गुरुङको पनि जन्मदिन परेको छ । ‘नोभेम्बर रेन’मा ‘डल्ली’ को भुमिका निर्वाह गरेकी छुल्ठिम गुरुङ अहिले आफ्नै लगानीमा चलचित्र ‘डायरी’ निर्माण गर्दैछिन् । खबरका अनुसार चलचित्र ‘डायरी’ को आज शुभमुहुर्त पनि गरिएको छ ।