एम सन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र ‘लालटिन’को रिलिज मिति घोषणा गरिएको छ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको चलचित्र ‘लालटिन’ यसै बर्षको चैत १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । आफ्नो आधिकारीक फेसबुकबाट चलचित्रको रिलिज मिति घोषणा गर्दै निर्माता भानु प्रतापले ‘लालटिन’ सँग अरु चलचित्र नजुधाउन पनि आग्रह गरेका छन् ।
चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह-निर्माता हुन् । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन, विनोद ढकाल, किरण माइकल र डीजराज पौडेलको संगीत छ । रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलत्रिमा राज कटुवाल र निर्जन थापा नयाँ प्रस्तुतीको रुपमा देखिदैछन् । १ करोड माथिको बजेटमा तयार भएको भनेर दाबी गरिएको यो चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ ।