‘होस्टेल रिटन्र्स’, ‘मौन’ चलचित्र निर्देशन गरिसकेका निर्देशक सुरज भुषालले निर्देशन गरेको चलचित्र गाँठो गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । तिलक बहादुर क्षेत्रीले निर्माण गरेको यो चलचित्रमा नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र गाँठो हेरेपछि सिनेखबरकर्मी मनिष अन्जानले गर्नुभएको समिक्षा :-
निर्देशक : सुरज भुषाल
कलाकारहरु : नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठ
निर्माता : तिलक बहादुर क्षेत्री
जनर : थ्रिलर र ड्रामा
कहानी
चलचित्र गाँठो नाजिर हुसेन (सम्राट), अभय बराल (विष्णु) र नम्रता श्रेष्ठ (सिमरन) को वरीपरि घुमेको छ । नाजिर हुसेन उर्फ सम्राट एक चित्रकार हुन्छन् । उनमा सोसल फोबिया र बाइपोलार डिसअर्डरको लक्षण हुन्छ । अरुसँग खासै कुरा नगर्ने, सधै गम्भिर भएर बस्ने नाजिरको बानी हुन्छ । त्यही क्रममा सम्राटसँग भेट हुन्छ अभय उर्फ विष्णुको । विष्णु चित्रकारहरुले कोरेको चित्रहरुलाई बेच्न काम गर्छन । सधै भित्तामा अंगारले चित्र कोर्ने सम्राटलाई विष्णुले पेन्टिङ्ग बनाउन आग्रह गर्छन र उनी भित्तामा नभएर क्यानभासमा सपनामा देखेका कुराहरुलाई चित्रमा उतार्न थाल्छन् । त्यसपछि उनले बनाएको चित्र विष्णुले बेच्छन् । यही क्रममा नम्रता श्रेष्ठलाई सम्राटले बनाएका चित्रहरु खुबै मन पर्छ र उनी सम्राटलाई भेट चाहन्छिन् । सम्राटसँग नम्रतालाई भेटाइदिन्छन् विष्णुले । नम्रता सम्राटको विषयमा सबै कुराहरु जान्न चाहन्छिन् । सम्राट खासै अरुसँग नबोल्ने भएका कारण उनलाई सम्राटको विषयमा थाहा पाउन झण्डै १० दिन बढी लाग्छ । नम्रताले सम्राटको विषयमा जति जानकारी लिन्छिन् ति सबै कुरा झुटा हुन्छन् । सम्राट आफ्नो वास्तविकता अरुलाई बताउन चाहदैनन् । त्यो कुरा नम्रतालाई थाहा हुन्छ र उनी सम्राटको वास्तविकता थाहा पाउन उनको गाउँसम्म जान्छिन् । के नम्रताले उनको विषयमा सबै कुराहरु खोज्न सक्छिन् वा सक्दिनन् ? त्यो हेर्न भने हलसम्म नै जानु पर्छ ।
निर्देशन
चलचित्रको निर्देशन पाटो ठिकठाक छ । चलचित्रको सबैभन्दा कमजोरी पटकथा हो । चलचित्रको पटकथा नै कमजोर भएपछि चलचित्र गाँठो जसरी फुक्नु पर्ने हो त्यो अनुसार फुक्न सकेको छैन । पहिलो कुरा त गाँठो हेर्न जाने दर्शकहरुले चलचित्रको विषयवस्तु नै बुझ्न सक्दैनन् । पटकथा निकै कमजोर भएका कारण निर्देशक सुरज भुषालले दर्शक भुलाउन भने असफल देखिएका छन् । गाँठो हेरिरहँदा चलचित्र भन्दा पनि नाटक हेरे जस्तो महशुस हुन्छ । होस्टेल रिर्टन्स र मौन चलचित्र निर्देशक गरिसकेका सुरजले यो चलचित्रमा नाम अनुसार दर्शक बाँध्ने खुराक पस्कन भने असफल देखिएका छन् । चलचित्र खिचेका नरेन्द्र मैनालीको सिनेम्याट्रोग्राफी सबैभन्दा अब्बल छ ।
कलाकारहरुको अभिनय
होस्टेल रिर्टन्स र वीर विक्रम चलचित्र हेर्नु भएको छ भने नाजिर हुसेनलाई पक्कै याद गर्नुभएको हो । उनको अभिनयको तारिफ जसरी होस्टेल रिर्टन्स र वीर विक्रमबाट भने त्यो अनुसारको पफमेन्स गाँठोमा नाजिरको देखिन्न । चलचित्रमा नाजिरको भुमिकाले प्रत्येक दृश्यमा कौतुहल्ता भने तुल्याउँछ तर चलचित्रको पटकथा कमजोर भएकाले उनको अभिनयलाई खुलेर तारिफ गर्न भने सकिन्न । अभय र नम्रताको अभिनय भने राम्रै मान्न सकिन्छ ।
संगीत
चलचित्रमा एक गीत समाबेश छ । थिम संङ “साथी” बोलको गीतमा अनुपम शर्माको स्वर, शब्द र संगीत रहेको छ । गीतलाई कथा अनुसार प्रयोग गरिएको छ ।
हेर्ने कि नहेर्ने
यदी कलाकार नाजिर हुसेनको डार्यहार्ट फ्यान हुनुहुन्छ भने तपाईहरुका लागि गाँठो उपयूक्त हुन सक्छ ।