जय माँ अम्बे फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रानी’ को शुभमुहुर्त गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको शुभमुहुर्तसँगै औपचारिक निर्माण घोषणा गरिएको हो । दयाराम दाहालले निर्देशन गर्ने यो चलचित्रमा अनुप विक्रम शाह, मलिना जोशी, ध्रव कोइराला, हिमा कोइराला, रामचन्द्र अधिकारी, किशोर झा, सिपी पौडेल, सुबास गजुरेल, रवि शर्मा लगायतका कलाकारहरुको अभिनय रहनेछ । साथै चलचित्रमा नव प्रस्तुतीको रुपमा सारुक ताम्राकार र नायक शिव श्रेष्ठका छोरा मनिष श्रेष्ठको पनि अभिनय रहनेछ ।
द्धन्द्ध, खुसी र मायाको उच्चतम संगम भनिएको चलचित्र ‘रानी’ लभस्टोरी र एक्शन प्रधान हुने कार्यक्रममा निर्देशक दयाराम दाहालले बताए । चलचित्रले द्धन्द्धको संगमलाई सार्थक बनाउन गरिने बलिदान, घात र समर्पणको कथा पेश गर्नेछ । पुरुषोतम प्रधानको छायाँकन रहने चलचित्रलाई भानु महर्जनले निर्माण गर्न लागेका हुन् । एम थापाको लेखन, अष्ट महर्जनको द्धन्द्ध, कविराज गहतराज र रामजी लामिछानेको नृत्य, अर्जुन पोख्रेल, बिजय घिमिरे र दयाराम दाहालको संगीत, प्रमोद खरेल, अन्जु पन्त, विजय घिमिरे, निकिता थापा र दयाराम दाहालको गायन, विजय घिमिरे, विमल गौतम र दयाराम दाहालको रचना रहेको चलचित्र ‘रानी’ को छायाँकन आजबाट नै सुरु भएको छ । चलचित्रको शुभमुहुर्त कार्यक्रममा सिनेखबर डटकमसँग कुराकानी गर्दे नायक अनुप विक्रम शाहीले चलचित्र ‘रानी’ आफुले खोजेको जस्तै चलचित्र भएका कारण काम गर्न लागेको बताए । चलचित्र ‘रानी’ को शुभमुहुर्त कार्यक्रममा मलिना जोशी भने उपस्थित भएकी थिइनन् ।
तस्बिर : मिलन ढुंगाना