बलीउडकी चर्चित अभिनेत्री नेहा धुपियाले आफुलाई नेपाल मन पर्ने देश भएको बताएकी छिन् । सोमबार काठमाडौंको दरबारमार्गमा ‘पुमा’ ब्रान्डको आउटलेट उद्घाटन गर्ने क्रममा नेहाले नेपालको हावा पानीले आफुलाई बारम्बार नेपाल आइरहन मन लाग्ने बताइन् । उनले भनिन्, ‘मलाई नेपाल निकै मन पर्छ । त्यसैले पनि म बेला-बेलामा नेपाल आइरहेकी हुन्छु । म नेपाल आउँदा आरामले निदाउन सक्छु ।’
उनले नेपाल र भारतको परिकार उस्तै भएपनि स्वाद भने फरक रहेको बताएकी छिन् । उद्घाटन कार्यक्रममा उनले पुमा ब्रान्ड भरपर्दो र उत्कृष्ट ब्रान्ड रहेको बताइन् । पुमाकै जम्पर लगाएकी उनले नेपालीलाई फिट रहन पनि आग्रह गरिन् । चौथो पटकको नेपाल भ्रमणमा रहेकी उनले काठमाडौंका विभिन्न धार्मिकस्थलहरुको पनि भ्रमण गरेकी छिन् । उनले पशुपतिनाथ र स्वयम्भुको भ्रमण गरेका तस्बिरहरु आफ्नो इंट्राग्राममा शेयर गरेकी छिन् । उनी आज स्वदेश फर्किदैछिन् । चलचित्र ‘शिशा’ मा अभिनय गरेपछि उनलाई बलिउडमा हट नायिकाको रुपमा पनि चिन्ने गरिन्छ । उनी सन् २००२ को फेमिना मिस इन्डियाकी बिजेता पनि हुन् । घूपियाले आफ्नो अभिनय करियरको सुरुवात सन् २००३ मा बलीउड चलचित्र ‘कयामत’ बाट गरेकी थिइन् ।