ठूला पर्दा र सानो पर्दाको महत्व चलचित्र क्षेत्रमा निकै ठूलो हुने गर्दछ । अझ गीति भिडियो त सानो पर्दामा समेत पर्दैन । तर अचम्मको कुरा, नेपाली सिनेक्षेत्रका महानायक, सबैले सम्मान गर्ने कलाकार राजेश हमाल म्युजिक भिडियोमा मोडलिङ गरेको देख्दा उनका प्रशंसकहरु आश्चर्यमा पर्नु अनौठो होइन् ।
हमालले आधुनिक, देशभक्ती गीतको म्यूजिक भिडियोमा मात्र होइन, लोक गीतको भिडियोमा समेत अभिनय गर्न बाँकी राखेका छैनन् । बलिउडको उदाहरण हेर्ने हो भने ठूलो पर्दाबाट सानो पर्दामा आउनु भनेको ठूलो पर्दामा असफल भएको रुपमा लिइन्छ । त्यसमा पनि म्युजिक भिडियोमा अभिनय गर्नु राजेश हमालको उचाई, उनीप्रतिको सम्मान र उनले पाएको महानायकको उपाधी नै उपहास गर्ने रहेको समेत टिप्पणी नहोला भन्न सकिन्न । हालै हमालले चलचित्र निर्देशक मिलन चाम्स निर्देशित ‘फरक मान्छे…’ बोलको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । भिडियोमा गायक समेत रहेका पूर्ण लिम्बु र नायक हमाल देखिएका छन् । गीतमा प्रेमकृष्ण बजगाइँले संगीत भरेका छन् । हमालले यसअघि निर्देशक मिलन चाम्स निर्देशत चलचित्र ‘हँसिया’ मा काम गरेका थिए ।
देशका चर्चित कलाकारहरु राम्रै रकम आएर पनि म्यूजिक भिडियो, लोकदोहोरीका भिडियोमा देखिन मान्दैनन् । स्टारडम जताततै देखाउँदा कमजोर बन्छ भन्ने उनीहरुको वुझाई छ । तर, देशकै चर्चित नायक हमाल भने लोकगीत, आधुनिक गीतका भिडियोदेखि देशभर आयोजना महोत्सवमा कुँदिरहेका छन् ।
नायक हमाल मात्रै होइनन् नेपाली चलचित्रमा सफल मानिएका तथा एक समय हमालका प्रतिस्पद्र्यी नायक मानिने भुवन केसी पनि केही म्यूजिक भिडियोमा देखिसकेका छन् । भुवन भने महँगो पारिश्रमिक र उत्कृष्ट गीत भेटेको खण्डमा मात्र काम गर्ने गरेको बताइन्छ । हमालको हकमा भने त्यसो भएको खासै पाइँदैन । आफु अभिनित पछिल्ला चलचित्रहरु फल्प हुँदै गएपछि हमाल म्यूजिक भिडियो तर्फ बढी देखिन थालेका हुन् भन्ने अडकल बाजी पनि केही समयदेखी नेपाली सिनेवृतमा गाइँगुइँ चलिरहेको छ तर यस तर्फ भने हमालको ध्यान खासै गएको देखिन्न ।
गएको भदौ महिनामा आफु अभिनित चलचित्र ‘शकुन्तला’ पनि फल्प भएपछि अहिले हमाल कुनै पनि चलचित्रको काममा व्यस्त छैनन् बरु उनी नेपाल देखी विदेशमा हुने मेला महोत्सवमा बाक्लै देखिन थालेका छन् । महोत्सवबाट राम्रै रकम आउने भएकाले पनि हमाल यतातर्फ आकषिर्त भएको लामै समय भैसकेको छ । हुनत, गायक-गायिकादेखि नायक-नायिका आम्दानीको राम्रो श्रोतको रुपमा महोत्सवलाई लिने गर्छन् ।