नायक जीवन लुइँटेल र नायिका सञ्चिता लुइँटेलको मुख्य भुमिका रहेको चलचित्र ‘राधा’ यही कार्तिक १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘राधा’ मा जीवन रामको भुमिकामा छन् भने सञ्चिता राधाको भुमिकामा छिन् । चलचित्र ‘राधा’ ले दर्शकहरुको साथ पाउनेमा ढुक्क रहेका जीवन र सञ्चिताले एक अन्तर्वार्ताको क्रममा आफुहरुलाई एकअर्कासँग काम गर्न निकै सजिलो भएको बताएका छन् । जीवनले नायिका सञ्चिता लुइँटेल आफुभन्दा अग्रज भएपछि चलचित्र ‘राधा’ मा काम गर्दा कुनै अफ्ठ्यारो महशुस नभएको बताए ।
उनले भने -‘मैले उहाँको धेरै चलचित्रहरु हेरेको थिएँ । उहाँसँग चलचित्र राधामा काम गर्न पाउँदैछु भन्दा नै म निकै उत्साहित पनि भएको थिएँ ।’ उनले अन्य चलचित्रहरुमा पनि सञ्चिता र नायिका रेखा थापासँग रोमान्स गर्ने इच्छा रहेको पनि बताएका छन् ।
त्यस्तै नायिका सञ्चिता लुइँटेलले भने जीवन र नायक निखिल उप्रेतीसँग फिल्ममा रोमान्स गर्न मन लागेको बताएकी छिन् । सोही क्रममा सञ्चिताले आफ्ना श्रीमान निखिल उप्रेतीलाई एकदमै स्टाइलिस बन्न आबश्यक रहेको पनि बताएकी छिन् । उनले भनिन्, ‘म उहाँलाई स्टाइलिस बनाउने कोशिश गरिरहेको छु । अझ उहाँले आफुलाई चेन्ज गर्दै लैजानु पर्छ ।’ उनले नायिका भन्दा पनि आफु आमा भनेर चिनिन चाहने पनि बताइन् ।
अन्तर्वार्ताको क्रममा नायक जीवन लुइँटेलले अब आफ्नो शरीरलाई मेन्टन गर्न तर्फ पनि ध्यान दिने बताए । उनले भने -‘एक चलचित्रका लागि अलि मोटाउनु पर्ने थियो त्यसका लागि केही मोटाउन खोजेको अलि बढी नै मोटाइएछ । अब तौल घटाउँदैछु ।’ नायक जीवन र सञ्चिताले चलचित्र ‘राधा’ ले नेपाली मौलिक कथा बोकेको कारण सबैले एकपटक हेर्न आग्रह पनि गरेका छन् ।